मधेश प्रदेशः ज्यान मार्ने उद्योगमा वडाध्यक्ष पुर्पक्षमा कारागार चलान

मिति: २०२३-११-०८ , समय : १३:०७:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशको सर्लाहीको धनकौल गाउँपालिकाका एक जना वडाध्यक्ष पुर्पक्षमा कारागार चलान भएका छन् ।

ज्यान मार्ने उद्योगमा धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोलाई सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो ।

केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर भएको थियो ।

मुद्दा दायर भएदेखि फरार रहेका महतो मङ्गलबार अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश थापाको इजलासले मुद्दाको अन्तिम फैसला नआउन्जेल वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

महतो स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यस मुद्दामा अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्तिहरू फरार रहेका र तीनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-११-०८ , समय : १३:०७:२३ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित