सभापति चयन हुन नसक्दा संसदीय समितिकाे काम प्रभावित, १० वटा विधेयक विचाराधीन अवस्थामा

मिति: २०२३-०७-१७ , समय : १५:३६:३३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ । संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारबाहीहरू प्रभावित बनेका हुन् ।

अहिले समितिको बैठक समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ । राजनीतिक दलहरूले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरेको कुरा नेताहरूले बताउँदै आए पनि अहिलेसम्म समितिले सभापति भने पाउन सकेको छैन ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विभिन्न समितिमा गरी १० वटा विधेयक विचाराधीन अवस्थामा रहेको बताउनुभयो । उहाँले राज्य व्यवस्था तथा सुशासन समितिमा चार वटा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एउटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा एउटा, कानुन न्याय तथा मानव अधिकार समितिमा दुई वटा, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई वटा विधेयक दफावार छलफलका लागि पठाइएको जानकारी दिनुभयो । त्यसबाहेक प्रतिनिधिसभामा छ वटा विधेयक प्रक्रियामा रहेका उहाँले बताउनुभयो ।

प्रवक्ता गिरीले समिति बैठक अहिलेसम्म गम्भीर प्रकृतिका विषयवस्तुहरूमा प्रवेश नगरेको बताउनुभयो । समिति सभापतिको नेतृत्वमा समिति चलाउँदा नै समितिको सक्रियता र क्रियाशीलता बढ्ने उहाँको भनाइ छ । उहाँले चुनावपछि समितिले थप गति लिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय अवस्थामा गम्भीर प्रकृतिका विषयवस्तुहरूमा समिति अहिले प्रवेश गरिहालेको अवस्था पनि देखिँदैन । सभापतिको चुनाव भइसकेपछि सभापतिले नै समिति चलाउँदा समितिको सक्रियता, प्रभावकारिता अभिवृद्धि भएको पहिला पनि देखिएकै हो ।’

प्रवक्ता गिरीले समितिहरूमा सार्वजनिक हित र सरोकारका विषयमा उजुरीहरू परिराखेका पनि बताउनुभयो । उहाँले समितिले उजुरीमाथि सम्बन्धित निकायलाई बोलाएर छलफल गर्ने बताउनुभयो । यसअघिकै कतिपय उजुरीहरू पनि यथावत् रहेका र नयाँ उजुरीहरू पनि परिरहेका गिरीकाे भनाइ छ । उज्यालो अनलाइनबाट

प्रकाशित मिति: २०२३-०७-१७ , समय : १५:३६:३३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्